काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सबै निजी तथा सरकारी विद्यालयलाई नियमावलीअनुसार छात्रवृत्ति उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले ताकेता दिएको छ।
सूचना प्रकाशित गरी महानगरपालिकाले छात्रवृत्ति नियमावली अनुसार जम्मा विद्यार्थीको दश प्रतिशत र प्रथम, द्वितिय हुने विद्यार्थीलाई उपलब्ध गर्न ताकेता दिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै महानगरपालिकाले सबै विद्यालयहरुलाई छात्रवृत्ति उपलब्ध गराउन र उपलब्ध भएको विवरण सूचनापाटी, वेबसाइटमा खुलाएर राख्न पनि अनुरोध गरेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुकमा सूचना शेयर गर्दै निजी विद्यालयले पनि नियमावलीको पूर्ण कार्यान्वयन गर्न अनुरोध गरेका छन् । सूचनामा लेखिएको छ, ‘नयाँ शैक्षिक सत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ । साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सुचित गराउन अनुरोध गरिन्छ । यो सम्बन्धि कुनै समस्या देख्नु भएमा काठमाडौ महानगर कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्न सक्नु हुनेछ ।’





















प्रतिक्रिया