Logo

राजनीति

बारा २ मा साढे ५५ हजार मत गन्दा उपेन्द्र यादवलाई २६ सय मतको अग्रता



बारा । बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन् । कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइहेका छन् ।

यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार पाँच सय एक मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार छ सय ८१ मत ल्याएर चौथो स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब १३ हजार पाँच सय ९४ मत गणना गर्न बाँकी छ ।

मतगणना भइरहेको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाको ४४ वटा वडा समेटिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार २१:३५   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।