Logo

मनोरञ्जन

एकसाथ तीन चलचित्र प्रदर्शनमा



काठमाडौं । आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।

गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको चलचित्र हो । ‘प्रसाद’ कै कथालाई अगाडि बढाइएको लेखक सुशील पौडेलले जानकारी दिए ।

अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन् । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । मूल कथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, विशाल पहाडी, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।

नेपालमा शृङ्खलाको रुपमा चलचित्र निर्माणको सुरुआत गर्ने ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खला प्रदर्शनमा आएको छ । विगतमा निर्माण भएका पाँच शृङ्खलाले दर्शकको मन जितेपछि निर्देशक विकासराज आचार्यले पटकथाकार सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा यसलाई तयार गरेका हुन् ।

चलचित्रमा आँचल शर्मा, प्रियङ्का कार्की, केकी अधिकारी, सरोज खनाल, आशिर्वाद क्षेत्री, अथर्व उप्रेतीलगायतको अभिनय छ । यसपटकको कथामा बालप्रेममा मात्र केन्द्रित नभई विभिन्न पक्षलाई समेटिएको पटकथाकार तिमिल्सिनाले जानकारी दिए । “चलचित्रमा चाहिने सम्पूर्ण पक्षलाई समेटिएको छ पटकथाकार तिमल्सेनाले बताए ।

प्रदर्शनमा आएको चलचित्र ‘कैदीको पत्र’लाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । एक युवक, उसको वरपर सम्बन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको चलचित्रमा जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई प्रस्तुत गरिएको छ ।

साहित्यकार स्व ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित रही तयार चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्कीलगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १७:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।