काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् ।
बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको उल्लेख गरे।
‘अहिले नेपालमा युवा जनसङ्ख्या सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकताअनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ’ मन्त्री साउदले भने ।
हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी मुलुकको समृद्धिमा लगाउन सरकार प्रयत्नशील रहेको बताए ।
कार्यक्रममा हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा घमनसिंह खड्कालगायतले क्याम्पसको शैक्षिक गतिविधि बारेमा अवगत गराउँदै क्याम्पसको आगामी शैक्षिक योजनाका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।





















प्रतिक्रिया