Logo

प्रमुख समाचार

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन पूर्व पदाधिकारी भ्रष्टाचारमा दोषी ठहर



काठमाडौं । स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् ।

विशेष अदालतले पूर्व उपकुलपति बलभद्रप्रसाद दास, पूर्व रजिष्ट्रार नन्दकुमार थापा र पूर्व निर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एक÷एक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने फौसला सुनाएको छ।

विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले बिहीबार स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । ३० असार २०७६ मा अख्तियारले तत्कालीन उपकुलपति बीपी दास सहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

तीन जना बाहेक रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तव, उपकरण सप्लायरहरु चेतन अग्रवाल र उमेश अग्रवालले भने आरोपबाट सफाइ पाएका छन् । कम रकम कबोल गर्ने बोलपत्रको आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएर राज्यकोषमा नोक्सानी पु¥याएको आरोप अख्तियारले लगाएको थियो ।

अख्तियारले बीपी दासमाथि चार करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालिन रजिष्ट्रार थापामाथि एक करोड ९६ लाख, रजिष्ट्रार श्रेष्ठमाथि ५६ लाख रुपैंया बिगो माग दाबी गरेको थियो ।

यस्तै लेखा प्रमुख दाहालमाथि २ करोड ३४ लाख र डेपुटी म्यानेजर श्रीवास्तवमाथि १ करोड ७४ लाख रुपैंया बिगो माग दाबी अख्तियारले गरेको थियो । सप्लायर्सहरुमध्ये चेतन अग्रवालमाथि एक करोड ४ लाख र उमेश अग्रवालमाथि ६० लाख रुपैयाँ बिगो माग दाबी थियो ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १३:२०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।