Logo

शिक्षा

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएकाे छ ।

त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको अवसरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीको आधारभूत दायित्व भएको स्मरण गराएका छन् ।

“विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाई सोहीअनुसार कार्यान्वयन गरोस”, बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीलाई विशेष रूपले निर्देशित गर्दछु ।”

कुलपतिको हैसियतबाट आफूले नेपालका विश्वविद्यालयका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियाएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले भोगिरहेका समस्या, त्यसका कारण र समाधानका उपायबारे विश्वविद्यालयका पदाधिकारी र सरोकारवालासँगको भेटघाट, संवाद एवम् विश्वविद्यालयका विभिन्न औपचारिक कार्यक्रममा छलफल हुने र निर्णयसमेत लिने गरिएको बताए ।

विश्वविद्यालयका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको पनि उनको भनाइ छ । विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाई अगाडि बढ्नु अत्यावश्यक रहेको प्रधानमन्त्रीले बताए ।

त्यसका लागि विश्वविद्यालयबाट पेस हुने उपयुक्त योजना र कार्यक्रममा नेपाल सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनले विश्वास दिलाए ।

विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल गुणात्मकरूपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने बनाउने दिशामा आवश्यक छलफल हुने प्रधानमन्त्रीको विश्वास छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १३:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।