Logo

अर्थ

एनसेल प्रकरण : आजियटा र सुनिभेराविरुद्ध अदालतमा मुद्दा दर्ता



काठमाडौं । एनसेलकाे स्वामित्व हस्तान्तरण गरेर केहीदिनअघि मात्रै नेपालबाट बाहिरिएकाे घाेषणा गरेकाे मलेसियन कम्पनी आजियटा र एनसेलकाे २० प्रतिशत सेयर हाेल्ड गरिरहेकाे कम्पनी सुनिभेराविरुद्ध अदालतमा मुद्दा दर्ता भएकाे छ । करिब ७ वर्षअघि एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा र सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हाे ।

आजियटाले विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धीकरणविरुद्धको कार्य गरेको भन्दै बुधबार मुद्दा दर्ता गरिएको हो । अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याइ आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गरिएकाे र त्याे गैरकानूनी भएको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गरेका हुन् ।

रिटमा याे कार्य नेपालको अहिलेसम्मको इतिहासमै ठूलो आपराधिक कार्य भएको र यसबाट सार्वजनिक सम्पत्ति हिनामिना भएको उल्लेख छ । यसबाट नेपालले पाउनुपर्ने ४०० मिलियन डलर अपचलन भएकाे तथा त्यसको बदलामा आजियटा र सुनिभेराले एनसेलको नाममा ऋण लिएर र एनसेलको पैसाबाट पूँजीगत लाभकर तिर्नु सरासर गैरकानुनी कार्य भएको रिटमा उल्लेख छ ।

रिट निवेदनमा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, एनसेल आजियाटा समूह बर्हाड, स्पेर्क्ट युके लिमिटेड, युनिभेरा क्यापिटल भेन्चर, ठूला करदाताको कार्यालयलाई विपक्षी बनाइएको छ । रिटमा बिहीबार बिहान १० बजेका लागि पेशी तोकिएको छ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार २०:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।