Logo

प्रमुख समाचार

यति फिल्म अवार्ड : मनोनयनमै मनोमानी, निश्पक्षतामाथि प्रश्न!



काठमाडौं । नेपालमा फिल्म र गीत संगीतको नाममा आयोजना हुने अवार्ड कार्यक्रम विवादित हुने नौलो कुरा रहेन । पछिल्लो समय विदेशी ग्रिन कार्डको नाममा पैसा तिरेर कलाकार मात्र होइन गैर कलाकारले समेत नक्कली अवार्ड थाप्छन् । मागेजति पैसा पाएपछि आयोजक पनि बिक्छन्, १०,२० हैन उस्तै पर्दा १०० वटासम्म अवार्ड एकै स्टेजमा बाँडिन्छ ।

नेपालमा हप्तैपिच्छे जस्तो आयोजना हुने अवार्ड कार्यक्रम कुनैपनि विवादित छैनन् । कि त स्टार कलाकार कार्यक्रममा पुग्ने र आफ्नो प्रोफाइल बलियो हुने नाममा आयोजकले झूर अभिनय गर्ने कलाकार र झूर फिल्मलाई अवार्ड बाँड्छन् कि त पैसा लिएसी दायाँ बायाँ नहेरी अवार्ड थमाउँछन् । गत वर्ष ‘प्रकाश’ फिल्म टिमले राष्ट्रिय अवार्ड बाँड्ने चलचित्र विकास बोर्ड विरूद्ध नै उजुरी हाल्नुपर्यो । राष्ट्रिय अवार्ड समेत विवादित बन्ने देशमा अन्य बिकाउ प्राइभेट अवार्डको चर्चा आवश्यक नहोला ।

तर यतिबेला बाँडिसकेको अवार्ड होइन् एउटा पहिलोपटक नाम सुनिएको अवार्डको मनोनयन नै विवादित बनेको छ । ‘यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४’ नाम दिएर यहि सेप्टेम्बर १४ मा लण्डनमा बाँड्ने भनिएको अवार्ड कार्यक्रम अन्य अवार्ड भन्दा फरक भन्दै आयोजकले पछिल्लो वर्ष र यो वर्ष रिलिज भइसकेका फिल्म जम्मा गरेर गत हप्ता मनोनयन सार्वजनिक गरेको थियो । तर उक्त अवार्डमा नेपाल सरकार अन्तर्गतको चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट प्रदान गरेको विशेष चलचित्रको अवार्ड पाएको फिल्म ‘बुलाकी’ र सुपरहिट फिल्म ‘बोक्सीको घर’ मनोनयन मै नपरेपछि निर्माता निर्देशकले असन्तुष्टि पोखेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘बुलाकी’ निर्माता तथा कलाकार विराज बिष्टले नेपाल सरकारबाट विशेष चलचित्रको पुरस्कार पाइसकेको तथा देश विदेशमा सम्पन्न विभिन्न अवार्ड र फिल्म महोत्सवमा उत्कृष्ट ठहरिएको ‘बुलाकी’ आइतबार सार्वजनिक यति फिल्म अवार्डको मनोनयन सूचि मै नपर्नुले आश्चर्य लागेको लेखेका छन् । आयोजकले माग गरेपछि आधिकारिक रूपमै फिल्म दर्ता गरिएको भन्दै विष्ट लेख्छन् ‘उक्त अवार्डमा एउटासम्म मनोनयनमा नपर्नुले यसअघि सम्पन्न राष्ट्रिय अवार्ड र अन्य अवार्डको गरिमामाथि नै आँच पुर्‍याएको मात्रै लागेको छैन सम्बन्धित अवार्डको जुरी सदस्यहरूको कार्य क्षमतामाथि नै प्रश्न उब्जाएको छ ।’

‘पछिल्लो समय आयोजकको प्रभावमा अवार्ड निर्णायक टिम पर्दै आएको गसिपलाई थप बल पुगेको मैले बुझेको छु, पर्यटन प्रवर्द्धनको नाममा विदेशमा हुँदै आएका फिल्म अवार्डमा गैर फिल्मकर्मी समावेश गर्दै जुरीको नाम देखाएर आयोजकले मनोमानी ढंगले अवार्ड बाँड्ने भन्दै उनले आक्रोश पोखेका छन् ।

यस्तै ‘बोक्सीको घर’ निर्देशक सुलक्षण भारतीले आफ्नो फिल्म यो वर्षको नाम पनि लिन आयोग्य बनेको हो भन्दै प्रश्न गरेका छन् । एउटा विधामा गायिका समिक्षा अधिकारी परेकोमा उनलाई धन्यवाद दिँदै भारतीले जुरी सदस्य सुनिल थापालाई सम्पर्क गर्दा उनले यो बारे थाहा नभएको प्रतिक्रिया दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

फिल्म अवार्डमा उत्कृष्ट अभिनय पस्केका कलाकारहरू ‍को नाम नै छुट्नुले नाम चलेका र दबदबा भएकाहरूले मात्रै ठाउँ पाउने हो ? ‘बोक्सीको घर’ मनोनयनमासम्म पर्न नहुने फिल्म हो भन्दै उनले प्रतिप्रश्न गरेका छन् । यसअघि उनले पुरस्कार पाउने कसले बेग्लै कुरा हुने भन्दै मनोनयनमा समेत नपर्नुलाई कसरी ब्याख्या गर्ने भनेर अर्को प्रश्न छोडेका छन् ।

त्यसो त विदेशमा आयोजना गरिने भनिएका अवार्ड आयोजकहरूको मनोदशा नै खराब देखिँदै आएको छ । विदेशी भूमीमा आयोजना भएका हालसम्मका कुनै पनि अवार्ड विवादित छैनन् । अवार्डको नाममा गैर चलचित्रकर्मीलाई कलाकार बनाएर मानव तस्करी गर्ने या त टन्नै पैसा प्रदान गर्नेलाई अवार्ड थमाउने आयोजकको नियतिले यो अवस्था आइरहेको फिल्मकर्मीको गुनासो छ ।

यसै महिना मात्रै जापानमा अवार्ड र सांस्कृतिक कार्यक्रम गर्ने भन्दै मानव तस्करी गरेको आरोपमा एक अवार्ड आयोजनाकर्ता समिर लामा प्रहरीको नियन्त्रणमा पुगेका थिए । सुरूमा कलाकार बन्ने र अवार्ड किनेर विदेश जाने लोभले एक अवार्ड आयोजकसम्म पुगेका लामा पछि नेपालमै मनग्य कमाई हुने यहि धन्दा गतिलो भन्दै अवार्ड आयोजक बन्न पुगेका थिए ।

उनकै नियति अन्य अवार्ड आयोजकमा पनि देखिन्छ । ‘ईन्फा’ नाम दिइएको यो अवार्ड मनोनयनमा परेकाहरूबाट उत्कृष्ट मध्येपनि उत्कृष्टता खोजेर प्रदान गरिने अवार्डमा विवादित नबनोस् कामना गर्न मात्रै सकिन्छ, तर मनोनयनमै संसय उत्पन्न गराएको अवार्ड समारोह निर्विवाद हुनेमा भने शंका नै छ ।

यो अवार्डको मुख्य मान्छे मनोज केसी हुन् । उनि चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष हुन् । प्राविधिक संघको तर्फबाट आयोजना हुँदै आएको ‘नेफ्टा अवार्ड’ आजको दिनसम्म नेपालमा निर्विवाद छ । तर उक्त संस्थाले आर्थिक पाटो व्यवस्थापन गर्न नसक्दा अवार्ड कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन । तर उहि संस्थाको पूर्व अध्यक्ष मुख्य जिम्मेबार भएको कार्यक्रममा भएको मनोमानी स्विकार योग्य नभएको फिल्मकर्मी बताउँछन् । त्यसो त नेफ्टाको पद फुस्केपछि केसीले आफ्नै छोरीको नाममा कम्पनि खडा गरेर प्राइभेट अवार्ड गर्दै पैसो जोहो गरिरहेका छन् ।

यो कार्यक्रम लण्डनमा हुँदैगर्दा सहभागी हुन नेपालबाट गइदिने चल्तिका कलाकारले झुर काममै बाबजुत उत्कृष्ट काम गर्ने प्रतिस्पर्धि नोमिनेशनलाई पन्छ्याएर कार्यक्रमको रेड कार्पेट (कहिँकहिँ मात्रै ओछ्याउन सक्छन्) हिड्ने हिरो हिरोइनलाई अवार्ड दिएमा पनि अन्यथा लाग्ने छैन । उक्त कार्यक्रमको लागि अभिनेता अनमोल केसी लण्डन उडेका छन् । उनिसँगै प्रतिस्पर्धामा रहेका र अब्बल अभिनय पस्केका अभिनेताहरू दयाहाङ राई, खगेन्द्र लामिछाने र प्रदीप खड्का उक्त कार्यक्रममा पुगेनन् या र पुगे भने पनि अनमोलले अवार्ड पाउने निश्चित भइसकेको आयोजक निकट एक सदस्यले बताए । अनमोलले अवार्ड पाउने निश्चित भएपछि नै पासपोर्ट उपलब्ध गराएको श्रोतको दाबी छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १५:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।