काठमाडौं । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक १’को रिलिज रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले दिएको उजुरीको आधारमा अदालतले आज अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको वेबसाइटमा प्रत्यक्ष झिकाउन अन्तरकालिन आदेश दिइएको उल्लेख छ । मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक १’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए । नामलाई लिएर दुबै फिल्मबीच केही समयदेखि विवाद थियो ।
रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ ।
राजन भुसालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टर–टेक १’मा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मको सोमबार बेलुकी काठमाडौंमा प्रिमियर समेत गरिएको थियो ।





















प्रतिक्रिया