Logo

मनोरञ्जन

साउथ अभिनेता श्रीनिवास नेपालमा



काठमाडाैं । भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् ।

दक्षिण भारतीय फिल्म ‘टाइसन नाइडु’ को छायांकनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए ।

उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ। कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो फिल्मको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायांकन गर्ने निर्णय गरेका थियौं। यो फिल्मले नेपाली कलाकारलाई दक्षिण भारतीय फिल्मसँग जोड्नेछ ।’

फिल्म द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उनले जानकारी दिए । नेपालमा पोखरापछि काठमाडौँमा छायांकन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए ।

‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन । यहाँका खानाले समेत मलाई मोहित बनाएको छ’, उनले भने ।

उनले सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु फिल्ममार्फत अभिनययात्रा सुरू गरेका थिए । हालसम्म उनले अभिनय गरेका १० फिल्म प्रदर्शन भइसकेका छन् । हाल ‘टाइसन नाइडु’ सहित तीन फिल्म छायांकनरत छन् । उक्त फिल्ममा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताए ।

‘मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ । अहिले दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ। अन्य काम भने हाम्रो नेपाली फिल्मजस्तै छ,’ अभिनेता श्रेष्ठले भने ।

उनले ‘आइसी ८१४’ नामक भारतीय वेब शृङ्खलामा काम गरेका थिए । फिल्म ‘टाइसन नाइडु’ को छायांकन विगत एक वर्षदेखि विभिन्न तालिकामा (सेड्युलमा) भारतमा भइरहेको थियो । नेपालसँग कथा जोडिएपछि फिल्मका निर्मातासँगै यहाँ दृश्यांकन हुने कलाकार नेपाल आएका छन् ।

उनीहरुको नेपाल बसाइ र अन्य गतिविधिबारे निर्माण पक्षले कुनै जानकारी भने दिएको छैन ।रासस

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार १४:१९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।