काठमाडौं । प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल सुरु गरेको छ ।
अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुदामा रहेको असहमति र विधेयक बारे पुर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको छ ।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको आत्मसम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिवद्धता जनाए अनुरुप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए ।
‘शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएका छौं। उहाँहरूले द्रूत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचार विमर्श गरेर मूर्तता दिने छ र त्यो नै पार्टीको आधिकारिक धारणा हुने छ,’ उनले भने।
चैत २० मा शिक्षक आन्दोलन हुँदा २२ गते नै पार्टी सभापति शेरबहादुर देउवाले समस्या समाधानका लागि संम्बन्धित सरोकारवालासँग छलफल गरेको उनले बताए। ‘नेपाल शिक्षक महासंघ सभापति, शिक्षक संघ सभापति, महामन्त्रीलगायत नेताहरूलाई बोलाएर बूढानीलकण्ठमा पार्टी सभापतिले छलफल गर्नु भयो। त्यहींबाट उहाँले अर्थमन्त्री बिष्णु पौडेललाई फोन गर्नु भयो। उहाँले शिक्षकका माग सम्बोधनमा सरकारलाई गम्भीर हुन आग्रह गर्नु भएको थियो। शिक्षक प्रतिनिधिसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, पार्टीका सहमहामन्त्री जीवन परियार र म पनि उपस्थित थियौं,’ उनले भने।





















प्रतिक्रिया