Logo

प्रमुख समाचार

‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’ गीतकी गायिका सारिका घिमिरेको सपना, संघर्ष र सफलता



काठमाडौं । ‘गुन भुल्यौ’ (‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’) गीत मार्फत हाल टिकटक र युट्युबमा निकै चर्चित भएकी गायिका, सर्जक, संगीतकार र मोडल समेत हुन् – सारिका घिमिरे ।

यथार्थपरक शब्द, फरक आवाज र फरक प्रकारको संगीत भएको यो गीतलाई माया गर्नेहरु थपिएका-थपिएकै छन् । सार्वजनिक यातायातमा पनि यो गीत धेरै बज्न थालेको छ ।

यसो त यसअघि पनि उनको स्वरले सजिएको गीत ‘हेल्लो मिस्ड कल हान्ने हु आर यु’ गीतले झण्डै डेढ करोड भ्युज प्राप्त गरिसकेको छ । त्यस्तै केहि समय अगाडि सार्वजनिक भएको ‘मायालु’ (उसले त बिर्सियो रे मुटु साटेको, तारा गन्दै त्यो जुनेली रात काटेको)’ बोलको गीतले पनि टिकटकमा तहल्कै पिट्यो ।

यस गीतका हरेक क्लिपमा टिकटक लाखौंको संख्यामा बने । उनको स्वरले सजिएका गीत खोजी खोजी सुनिए, टिकटक बने ।

गीत हाइलाइट भए गायिका ओझेल जस्तै । यतिबेला भने उनको स्वरले सजिएको गीत “गुन भुल्यौ पित्तलको सुन पायौं होला” जतिले सुनिरहेका छन् त्यतिनै गायिकाको पनि खोजि हुन थालेको छ । उनले पाएको सफलता अघिका संघर्ष बुझ्न चाहनेहरु पनि उतिकै थपिएका छन् ।

सारिका सानैदेखि चञ्चले स्वभावकी थिइन्। नाच्न, गाउन र अभिनय गर्न हुरुक्क हुन्थिन्। उनको रुचीलाई परिवारले पनि साथ दिए। सुरुमा उनको रहर फिल्ममा अभिनेत्री बन्ने थियो। त्यसैले करिअरको सुरुवाती दिनहरुमा उनी नायिका बन्ने दौडमा लागिन्।

सारिकाले साहित्यकार झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्ममा काम गर्ने मौका पनि पाएकी थिइन्। उक्त फिल्ममा सारिकाले झमककी दिदीको भुमिका निर्वाह गर्ने मौका पाइन्। त्यस्तै उनले आगो–२, रक्तभोग, रामकुमारी जस्ता फरक विषयवस्तुका चलचित्रमा समेत अभिनय गरेकी छन् ।

सारिकाको अभिनयको राम्रो चर्चा भयो। तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन। केहि सीमित कलाकारबाहेक अन्यको अभिनय त्यसैमा मात्र सीमित भयो। सारिकाले पनि फिल्म क्षेत्र छाडिदिइन्।

त्यसपछि उनी गायनमा लागिन्। सारिका कलाका विविध विधामा संलग्न त छिन् नै गायनका पनि सबै विधामा पोख्त छिन् । आधुनिक, पप, लोक जनराका गीतमा उनले स्वर भरेकी छिन् । अहिले सफलतामै पुगेकी उनी आफु अझै संघर्ष गरिरहेको बताउँछिन्।

उनी आफूले गाएको म्युजिक भिडियोमा आफैं अभिनय गर्दै आएकी छिन्। उनले भनिन्, ‘पहिले म अभिनय गर्नकै लागि जन्मिएकी हुँ जस्तो लाग्थ्यो, तर फिल्म खेलिसकेपछि भने गीत गाउन जन्मेकी रहेछु जस्तो लाग्छ।’

उनी प्राय आफ्ना गीतहरुमा आफैं शब्द कोर्छिन् र संगीत पनि गर्छिन्। विभिन्न गुरुहरुबाट संगीतको शिक्षा लिइरहेकी छिन्। सारिका भन्छिन्, ‘संगीत भनेको साधना हो । साधना सधैं प्राथमिकतामा पर्छ ।

भाइरल हुनुलाई सफलता मान्दिन, सुन्नेहरुले राम्रो प्रतिक्रिया दिनु मेरो लागि सफलता हो । अहिले सबैको मुखमा झुण्डिएको, टिकटकमा रोजाइमा परेको र प्रंशसा गरिएका कमेण्टलाई मैले ठुलो कमाई ठानेकी छु ।’

सारिकाले गायनकै कारण थुप्रै अवार्ड तथा पुरस्कार पनि प्राप्त गरेकी छिन् । हिमालय म्युजिथक अवार्ड, सुन्दरादेबी म्युजिक अवार्डमा अवार्ड चुम्न सफल भएकी छिन् । यस्तै केहि समय अघि सम्पन्न भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट पप गायिकाको अवार्ड उचाल्न सफल भइन् ।

उनको आफ्नै सारिका घिमिरे नामको युट्युब च्यानल पनि छ । भर्खरै सार्वजनिक भएको गुण भुल्यौ गीत उनकै च्यानलमा अपलोड गरिएको छ, जसले यो समाचार तयार पारिरहँदा तीस लाख भ्युज क्रस गरिसकेको छ । यो गीतबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएकी छिन् ।

अग्रज कलाकारहरुले समेत गीत शेयर गरिरहेका छन् । मिडियाले पनि यतिबेला उनलाई खोजिरहेका छन् । चौतर्फी प्रंशसा पाइरहेकी छिन् । यो प्रंशसालाई उर्जाका रुपमा लिएको र आगाी दिनमा अझ राम्रा राम्रा गीतहरु ल्याउने योजना उनले सुनाइन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार ०७:३९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।