काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट नेतामध्ये दिवंगत नेता मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको खुलासा गरेका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा मङ्गलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले कम्युनिष्ट नेतृत्वमा नौ पटक सरकार बने पनि जनताको जीवनस्तरमा खासै सुधार नआएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
उनले भने, “प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ। तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन। दुःखका साथ भन्नुपर्छ, मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताहरूले असुली धन्दा गरैकै छन्। यो कुनै आरोप होइन, यथार्थ हो।”
उनका अनुसार कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा पनि देशको बहुआयामिक गरिबी, उत्पीडित समुदायमाथिको अत्याचार, पहिचानका मुद्दाको हराइरहने अवस्था, र युवा वर्गको विदेश पलायनजस्ता समस्याहरू यथावत छन्।
“९ पटक कम्युनिष्टको नेतृत्वमा सरकार हुँदा पनि के बदल्यौं? जनतालाई के दियौं? के गर्यौं?” भन्ने प्रश्न गर्दै उनले यो प्रश्नलाई “इतिहासकै सबैभन्दा बलियो र गम्भीर प्रश्न” भनेका छन्।




















प्रतिक्रिया