Logo

अर्थ

अब बैंक खातामा रकम भए मात्र सेयर किन्न पाइने, आईपीओमा आवेदन दिनासाथ पैसा रोक्का हुने



काठमाडौं । अबदेखि सेयर बजारमा कारोबार गर्नका लागि लगानीकर्ताको बैंक खातामा आवश्यक रकम हुनु पर्नेछ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नयाँ व्यवस्था समावेश गर्दै सेयर खरिदका लागि बैंक खातामा पर्याप्त रकम अनिवार्य गरिने उल्लेख गरेको छ ।

बोर्डका अनुसार दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको खातामा रकम भएको पुष्टि भएपछि मात्र कारोबार सम्पन्न हुने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । यसले सेयर कारोबारमा हुने अनावश्यक जोखिम न्यूनीकरण गर्दै पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने उद्देश्य राखिएको बोर्डको भनाइ छ ।

यसैगरी, आईपीओमा आवेदन दिने बित्तिकै आवेदनकर्ताको बैंक खाताबाट आवश्यक रकम रोक्का हुनेछ । अब आईपीओमा आवेदन गर्दा आवेदकको बैंक खाता सिधै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रणालीसँग ‘एपीआई’ मार्फत जडान हुनेछ, जसले आवेदनको तुरुन्तै स्वचालित परीक्षण गरी रकम रोक्का गर्नेछ । बाँडफाँट पछि भने नपरेका लगानीकर्ताको रकम स्वत: फुकुवा गरिनेछ ।

धितोपत्र बजारमा प्रणालीगत सुधार र जोखिम न्यूनीकरण गर्न लागिएको यस कदमले सेयर बजारमा पारदर्शिता र लगानीकर्ताको संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

त्यस्तै, बोर्डले इक्युटी डेरिभेटिभ्स बजारको विकासका लागि आवश्यक पूर्वाधार निर्माण तथा कारोबार प्रणाली विकासमा पनि पहल गर्ने घोषणा गरेको छ । साथै, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, धितोपत्र व्यापारी, सामूहिक लगानी कोष लगायतका सूचीकृत संस्थाहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा पनि एकरूप बनाइनेछ ।

धितोपत्र कारोबारमा जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्दै, लगानीकर्ता संरक्षण कोषलाई प्रभावकारी रुपमा संचालन गर्ने र सूचीकृत कम्पनीहरूको वर्गीकरण सुधार गर्न कानुनी संरचनामा पनि आवश्यक संशोधन गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १६:०८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।