चितवन । चितवनका विभिन्न स्थानहरूमा देखिएको विद्युत आपूर्तिको समस्यालाई गम्भीरतापूर्वक लिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहान चितवनको भरतपुर आइपुगेका छन्। उनले पूर्वी चितवनका प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् ।
शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार भरतपुरको अवस्थाको जानकारी लिएपछि शाक्य पूर्वी चितवनको राप्ती नगरपालिका अन्तर्गत पर्ने हर्दी सबस्टेशन पुग्नेछन् । सो सबस्टेशनमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफल परीक्षण भइसकेको छ ।
हर्दी सबस्टेशनका इन्चार्ज रोशन खनियाँका अनुसार अब केही प्राविधिक परीक्षणहरूपछि लाइन जोड्ने काम सुरु हुनेछ । सो ट्रान्सफर्मर सञ्चालनमा आएपछि पूर्वी चितवनका अधिकांश क्षेत्रमा सोही सबस्टेशनबाट विद्युत आपूर्ति गरिने उनले जानकारी दिए । यसबाट भरतपुर सबस्टेशनको लोड घट्नेछ र विद्युत आपूर्तिमा स्थायित्व आउने अपेक्षा गरिएको छ ।
अहिले देवनगरबाट टाँडी तथा पर्सामा विद्युत उपलब्ध हुँदै आएको छ । चितवनमा पछिल्लो समयमा गर्मी बढेसँगै पूर्वी चितवनको टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा विद्युत आपूर्तिमा समस्या हुँदै आएको छ ।
चितवनमा देखिएको विद्युत समस्या मंगलबारसम्म समाधान हुने प्राधिकरणले जनाएको छ ।




















प्रतिक्रिया