Logo

अर्थ

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध



काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् बैंकका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरू उपयोग गर्न सक्नेछन् ।

उक्त सम्झौताअनुसार चालू आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरूको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ ।

साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम एक अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।

सिद्धार्थ बैंकमा हाल एक हजार ९५५ जना कर्मचारीहरू कार्यरत छन् । बैंकका कर्मचारीहरूले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।

कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार साधारण रोगको उपचारको लागि वार्षिक एक लाखसम्म र कडा रोगको लागि सेवा अवधिभरमा १० लाखसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ ।

दुर्घटना क्षतिपूर्ति बापत २ लाखसम्म तथा काजकिरिया अनुदान ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसूती बढीमा दुई पटकसम्म ७ हजार ५ सय समेत प्रदान गर्दै आएको छ ।

कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भएका कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १२:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।