Logo

प्रमुख समाचार

आजदेखि माओवादी स्थायी समिति बैठक, अब पार्टीभित्रको अन्तरविरोध के होला ?



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको थियो । पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ ।

नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।

बुधबारको बैठकमा सचिव लीलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध हल गर्ने भनेर प्रश्न गरेका थिए ।

पोखरेलको प्रश्नको जवाफ दिँदै प्रचण्डले स्थायी समिति बैठक नै बोलाइसकेको अवस्थामा अन्तरविरोधबारे कुनै छलफल नहुने बताएका थिए । अन्तरविरोध सम्बन्धमा एजेन्डाकै रूपमा प्रस्ताव गर्ने भनिए पनि यस विषयमा कुनै छलफल नभएको संस्थापन पक्षका एक नेताले बताए ।

ती नेताका अनुसार पार्टीले तय गरेको एजेन्डा बाहेक अन्य कुनै तयारी नभएको स्पष्ट पारे । पछिल्लो केन्द्रीय समिति बैठकले हल गरेको विषयलाई उपमहासचिव शर्माले विवादको रूपमा बाहिर ल्याएकोमा असन्तुष्टि पोखे ।

‘केहि नेतालाई विधि, विधानको कुनै मतलब छैन । थर्काएर हुन्छ वा के गरेर हुन्छ आफ्नै अडान लाद्न खोज्ने प्रवृत्ति छ । त्यो प्रवृत्ति तोड्नुपर्छ । पछिल्लो केन्द्रीय समिति बैठकले अन्तरविरोध हल गरेको थियो ।

उठाएका मागहरू पुरा भएकै थिए । तर, बाहिर लगेर जसरी विवादलाई छताछुल्ल पारिएको छ, त्यो गलत हो । स्थायी समिति बैठकले नै अन्तरविरोध व्यवस्थापन गर्छ’, ती नेताले भने ।

गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्ताव पेस गरेका थिए । शर्माको प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै उपमहासचिव शर्माले असन्तुष्टि जनाउँदै आएका छन् । शर्मा निकट एक नेताका अनुसार अघिल्लो एजेन्डा नै बाँकी रहेकाले यो पटक थप प्रस्ताव लैजाने तयारी देखिँदैन ।

‘अघिल्लो स्थायी समितिमा प्रस्ताव गरेको एजेन्डा नै कार्यान्वयन भएको छैन । थप प्रस्ताव लगेर के अर्थ छ र ? पहिला सबैको कुरा सुनिन्छ । त्यसपछि के हुन्छ त्यतिबेलै कुरा हुन्छ । अहिले छुट्टै प्रस्ताव लैजाने कुनै तयारी छैन’, शर्मा निकट ती नेताले भने ।

पदाधिकारी बैठकले हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेन्डा बनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार ०८:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।