काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहले राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन् । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी तथा बबई नदीमा जलस्तर खतराको तहभन्दा माथि पुगेकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका हुन् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले देशभरको अवस्था र तयारीबारे जानकारी गराएका थिए । जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराएका थिए ।
प्राधिकरणका प्रमुख भट्टले मधेशमा केही दिनयता वर्षा भइरहेको जानकारी गराउँदै रोपाइँ क्षेत्रफल बढ्न सक्ने बताए ।




















प्रतिक्रिया