काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)काे बढुवाका विषयमा परेको उजुरीमाथि अझै छानबिन भएको छैन । असन्तुष्टि जनाउँदै बढुवा समितिमा उजुरी परेको थियो ।
उक्त उजुरीमाथि छानबिन नहुँदा एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएर पनि बढुवा भने रोकिएको छ । गृहसचिवको अध्यक्षतामा हुने एसएसपीको बढुवा समितिले गत साउन ५ मा ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिसमा नपरेका एसपी विमल बस्नेतले बढुवा समितिविरुद्ध उजुरी दिएका थिए । बस्नेतले बढुवा सिफारिसमा जेष्ठताका आधारमा आफू पर्ने दाबीसहित उजुरी दिएका थिए । बढुवाको ‘मेरिट लिस्ट’को पहिलो नम्बरमा आफू रहँदा पनि अन्यायपूर्ण तरिकाले छुट्टाइएको भन्दै उनले समितिमा उजुरी गरेका थिए ।
उनले उजुरी दिएको एक हप्ता बितिसक्दा पनि उजुरीबारे छानबिन र अध्ययन भएको छैन । प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार, देशबाहिर रहेका बस्नेतले वारेसमार्फत उजुरी पठाएका थिए । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने एक–दुई दिनभित्र नै बढुवा प्रक्रियाले पूर्णता पाउने बताए ।
ती अधिकारीले भने, ‘‘उजुरीले बढुवा प्रक्रिया पूरै रोकिने होइन, उजुरी नपरेको भए सात दिनपछि बढुवा कन्फर्म हुने हो, उजुरीपछि केही ढिलाइ भएको हो, आजभोलिमा हुन्छ ।’’




















प्रतिक्रिया