काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल काठमाडौंले अधिवेशन प्रक्रिया तीव्र बनाउँदै विभिन्न तहमा प्रतिनिधि खटाएको छ । वडा, नगर, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रसम्मको अधिवेशन तय गरिएको समयमा सम्पन्न गर्न संगठनले आवश्यक तयारी थालेको हो ।
तरुण दल काठमाडौं जिल्ला कार्यसमितिले मातृ पार्टी नेपाली कांग्रेस र दलका प्रमुखहरूसँग समन्वय गर्दै अधिवेशन प्रक्रिया अघि बढाइरहेको जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए । उनका अनुसार अधिवेशनलाई सफल बनाउन कार्यदल र संयन्त्रहरू सक्रिय बनाइएका छन् ।
‘अधिवेशन हाम्रो संगठनको जीवनशैली हो,’ अध्यक्ष खड्काले भने, ‘युवा नेतृत्वलाई सशक्त बनाउने र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न हामी अघि बढेका छौं ।’
उनले प्रतिनिधिहरूलाई बाँकी रहेको सदस्यता वितरण कार्य तत्काल अघि बढाउन निर्देशन दिइएको जानकारी पनि दिए । साथै, तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्न विशेष जोड दिइएको छ ।
नेपाल तरुण दलले आगामी निर्वाचनलाई समेत लक्षित गर्दै संगठनलाई नयाँ जोश, उत्साह र नीतिगत स्पष्टतासहित अघि बढाउने रणनीति तय गरेको छ । यसपटकको अधिवेशनमार्फत युवा पुस्तालाई राजनीति र नेतृत्व विकासमा सक्रिय संलग्न गराउने लक्ष्य लिइएको छ ।























प्रतिक्रिया