Logo

प्रमुख समाचार

एकअर्काविरुद्ध नबोल्ने माधव र झलनाथबीच सहमति



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने सहमति भएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल, बेदुराम भुसालगायत भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् ।

‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले बताए ।

शनिबार अध्यक्ष नेपाल पार्टीको कार्यक्रममा जानुपर्ने भएकाले छोटो भेट मात्रै भएको थियो । तर, सोमबार दुई नेताहरुबीच पार्टीभित्र देखिएको समस्या समाधान गरेर जान सहमत भएका छन् ।

दुई नेताबीच अब सार्वजनिक रूपमा एकअर्काविरुद्ध नबोल्ने र बाँकी कुरा पार्टी बैठकमा छलफल गर्न पनि तयार भएका छन् । सम्मानित नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्षमा पनि औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि अध्यक्ष नेपाल चिढिएका थिए ।

विवादका बीच दुई नेताहरूले एकअर्कालाई पार्टी छाडेर एमालेमै जान समेत भन्न भ्याए । दुई नेताबीचका विवादको जड यति मात्रै नभएर सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध खनालले राखेको लिखित प्रस्ताव पनि थियो ।

भ्रष्टाचारको मुद्दा लागेपछि नेता खनालले अध्यक्ष पद छाड्नुपर्ने र यो मुद्दाको भारी पार्टीले नबोल्ने भन्दै लिखित दस्ताबेज पेस गरेका थिए । उनले त्यो प्रस्तावमाथि पनि छलफलको माग गरिरहेका छन् ।

तर अब आगामी बैठकमा यो विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एकीकृत समाजवादीको ३० साउनमा सचिवालय बैठक बस्दैछ । ‘सचिवालयकै बैठकमा भन्नुपर्ने कुरा नेताहरुले भन्ने, तर सार्वजनिक आरोप लगाएर अन्तर्वार्ता दिने, प्रतिक्रिया जनाउने काम रोक्ने भद्र सहमति भएको छ’, स्रोतले बताएकाे छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १३:३८   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।