काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले अन्य दलले रास्वपामाथि आक्रमण गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद ढकालले रास्वपाका विषयमा अरू दलले ‘डिपफेक’ भिडियो बनाएर आक्रमण गरिरहेको बताए ।
सांसद ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन् ।
‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौँ, हामीले ९५ दिनदेखि भिजिट भिसाको विषय उठाइरहेका छौँ,’ ढकालले भने, ‘हामीले बोलेको दुई मिनेटका लागि सत्तापक्षले प्रतिवादमा घण्टौँ खर्चिरहेको छ ।’
उनले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताए । ‘दलीयकरणले देश थिलथिलो भएको छ । दलीयकरणले जसरी अख्तियारलाई सेपमा राखिएको छ, त्यो २०८४ पछि जुरुक्कै उठ्छ । २०८४ पछि संवैधानिक नियुक्तिहरू खारेज हुन्छन् । हरेक नेपाली बोल्छ, देश बोल्छ, विदेशमा रहेका नेपाली बोल्छन्, देश जुरुक्कै उठ्छ’, ढकालले भने, ‘त्यसबेला तपाईंहरू पनि बोल्न पाउनुहुनेछैन ।’




















प्रतिक्रिया