Logo

समाचार

स्वास्थ्य मन्त्रालयकाे काम स्वास्थ्य अनुसन्धान परिषदबाट सञ्चालन गर्ने



काठमाडौं । भदौ २४ गते आन्दोलनकारीहरूले रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन जलाएर ध्वस्त पारिदिए । त्यसपछि सेवा सुचारु गर्न नसकेको मन्त्रालयले आइतबारदेखि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट काम सुरु गर्ने भएको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले एनएचआरसीको भवनबाट अस्थायी रूपका काम गर्नका लागि व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए । ‘हामी कर्मचारी त एउटै हलमा बसेर काम चलाउन सक्छौँ, तर मन्त्रीका लागि अलग्गै कोठा तयार गरेका छौं,’ डा. देवकोटाले भने, ‘भवनको कुनै कोठा बाँकी छैन, काजजात कुनै पनि बाँकी छैन ।’

अहिलेलाई एनएचआरसीको काम सुरु गर्ने र सिंहदरबारभित्र स्थायी ठाउँ पाउनका लागि पहल जारी गरिरहेको उनले जानकारी दिए ।

‘इमेलमा र हामीसँग ल्याबटपमा भएका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने गर्नेछौं । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ,’ डा. देवकोटाले भने ।

मन्त्रालयले सिंहदरबारभित्र प्रतिनिधिसभासँगै बन्न लागेका केही भवनमध्ये एउटा भवन स्वास्थ्यलाई उपलब्ध गराउन आग्रह गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत देशभरि ३० हजार भन्दा कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १३:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।