Logo

प्रमुख समाचार

खुल्न थाले सरकारी कार्यालय, पाल टाँगेर थालियो काम



युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा कर्मचारी भग्नावशेष संरचनाको सफाइ र पुनःनिर्माणमा जुटेका छन् । सर्वसाधारण पनि स्वतःस्फूर्त सरकारलाई सघाउन लागि परेका छन् ।

संकटको समयमा जुटेको यो सहकार्यपछि पूर्ण रूपमा क्षतिग्रस्त बनेका कार्यालयले पाल मुनिबाटै भए पनि आम नागरिकको गुनासो सम्बोधन गर्न थालेका छन् ।

गत २४ गते जेन–जी प्रदर्शनकारीको तोडफोड र आगजनीले सर्वोच्च अदालत पूर्ण रूपमा क्षतिग्रस्त भयो । आगजनीको भोलिपल्टैदेखि कर्मचारी, न्याय क्षेत्र र सर्वसाधारणको सक्रियतामा भग्नावशेष हटाउने र बचेखुचेका कागजात संकलन गर्न थालियो ।

जसकारण आगजनी भएको पाँचौँ दिनमा नै सर्वोच्चले पालमा ओत लागेरै सेवा दिन थालेको छ । आइतबार पहिलो दिन आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता शुरू भएको छ । सोमबारदेखि इजलास सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

सर्वोच्चसँगै जेन–जीहरुले उच्च अदालत, काठमाडौं जिल्ला अदालत, यातायात व्यवस्था विभाग, सडक विभाग लगायतका संरक्षनामा क्षति पुर्‍याएका थिए ।

दुई वर्ष पहिले मात्रै बबरमहल सरेको सडक विभागले पुनः ललितपुरको चाकुपातबाट सेवा दिन थालिसकेको छ । अन्य कार्यालय सञ्चालनबारे कुनै जानकारी आएको छैन ।

सर्वोच्च अदालत मात्रै होइन, प्रधानमन्त्री कार्यालय, मन्त्रालयसहित देशकै केन्द्रीय कार्यालय रहेको सिंहदरबारमा पनि तोडफोड र आगजनीबाट अपूरणीय क्षति पुगेको छ । तर पनि भग्नावशेष हटाएर र सरसफाइपछि कर्मचारीहरूले अत्यावश्यकीय सेवा सुचारू गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवासमा पनि आगजनी गरिएको थियो । त्यहाँ पनि जोगिएका संरचनाबाट सेवा सुरु गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार २०:४६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।