काठमाडौं । नेपाली कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूको बैठक आइतबार काठमाडौंको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा सम्पन्न भएको छ ।
बैठकमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् । सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार, सभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएलगत्तै केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने निर्णय भएको छ ।
बैठकले हालको राजनीतिक संकटलाई सम्बोधन गर्न कांग्रेसले सक्रिय र निर्णायक भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । साथै, विषम परिस्थितिमा पार्टी एकताबद्ध रहनुपर्नेमा विशेष जोड दिइएको बताइएको छ ।
नेताहरूका अनुसार, मुलुकको संकट समाधानमा नेतृत्वदायी भूमिका खेल्न कांग्रेस तयार हुनुपर्ने सन्देश दिन बैठक बसेको हो ।





















प्रतिक्रिया