काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन भड्किँदा ७४ जनाले ज्यान गुमाउनुपर्यो भने सिंहदरबार र संसद भवनलाई मात्र नभई, सर्वोच्च अदालतदेखि प्रहरी कार्यालयसम्म संरचनाहरू खरानी बने ।
आगजनी सरकारी कार्यालयमा मात्र सीमित रहेन । पाँचतारे होटल, भाटभटेनी सुपरमार्केट, निजी कम्पनीका कार्यालय, वित्तीय संस्थाहरू तथा व्यक्तिका निजी सम्पत्ति र नेताका घरहरू पनि तोडफोड, आगजनी र लुटपाटबाट अछुतो रहन सकेनन् ।
राजधानीकै भाटभटेनी सुपरमार्केटमा भएको प्रदर्शनकारीको आगजनीले अर्बौंका सम्पत्ति जलेर नष्ट भए, मान्छेका जीवनसमेत खरानी बनायो ।
काठमाडौंको चुच्चेपाटी शाखामा ६ जना, कोटेश्वरमा १ जना, सुनसरीमा ४ जना र मोरङमा १ जना गरी १२ जनाको जलेको शव प्रहरीले फेला पार्यो ।
भाटभटेनीभित्र आगजनीमा जलेका उनीहरूको अस्थिपञ्जर र कंकालमात्रै फेला परेको थियो । ती शवहरूको पहिचानका लागि १२ वटा शवहरू त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
नेपाल प्रहरीका अनुसार, डीएनए म्याचबिना पहिचान गर्न मुस्किल भएपछि तिनका शवहरू अस्पतालमै छन् । “१२ वटा शव अस्पतालमा छ । ती शवहरूको डीएनए म्याच नगरी पहिचान गर्न मुस्किल छ,” प्रहरीका एक अधिकृतले भने ।
त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, सातवटा शव पूर्ण रुपमा जलेको अवस्थामा छन् ।
“सातवटा शव पूर्ण रुपमा जलेको अवस्था छ । कंकालमात्रै बाँकी रहेकाले डीएनएबिना पहिचान गर्न मुस्किल छ । यतिखेर काम त भइरहेको छ । तर, मृतकका परिवारहरू सम्पर्कमा नआउँदा समस्या जटिल बन्दै गएको छ,” डा. चौधरीले भने ।
अस्पतालका अनुसार, जेनजी प्रर्दशनका क्रममा मृत्यु भएका ४६ शवको पोस्टमार्टम निम्ति अस्पताल पुर्याइएको थियो । जसमध्ये ३९ जनाको शव अस्पतालबाट परिवारले बुझिसकेका छन् ।
प्रहरीको तथ्यांक अनुसार, कुल ७४ मृतकमध्ये तीन जना प्रहरी छन् । सर्वसाधारण र प्रदर्शनकारीको तर्फबाट ६१ जनाले ज्यान गुमाएका थिए ।




















प्रतिक्रिया