काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।
उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नचम्किन चेतावनी दिएका छन् ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’
संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेनजी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।
उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ ? कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू । यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’





















प्रतिक्रिया