काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्याली, जुलुस, धर्ना र प्रदर्शनजस्ता सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलद्वारा जारी सूचनामा आगामी शनिबार (असोज २५) का लागि कुनै पनि र्याली वा प्रदर्शन गर्न अनुमति नदिइने स्पष्ट गरिएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले शनिबार शक्ति प्रदर्शनसहित मोटरसाइकल र्याली आयोजना गर्ने तयारी गरिरहेको थियो। प्रशासनका अनुसार त्यही दिन विभिन्न समूहहरूले काठमाडौंका फरक–फरक स्थानहरूमा मोटरसाइकल र्याली गर्ने जानकारी प्राप्त भएको थियो ।
प्रशासनले भदौ २३ गतेको जेनजी आन्दोलनपछि काठमाडौं उपत्यकामा भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको स्मरण गराउँदै शान्ति सुरक्षामा सम्भावित चुनौतीलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको जनाएको छ ।
‘यसै सिलसिलामा विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ,’ जिल्ला प्रशासनले दिएन अनुमति ईश्वरराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।




















प्रतिक्रिया