काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सम्पत्ति क्षतिमा उनीहरूको संलग्नता रहेको भन्दै अनुसन्धानको माग गरिएको हो । नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको छ ।
उनीहरूलाई विद्यार्थीलाई उक्साएको, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पुर्याएको तथा अराजक गतिविधि गराएको आरोप लगाइएको छ । नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह उजुरीकर्तामा छन् ।
उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न माग गरेका छन् ।
यसअघि सुदन गुरुङसहितका युवाहरूले आफूहरूलाई आन्दोलनमा दमन गरिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध जाहेरी दिएका थिए । एमाले निकट अनेरास्ववियुले पनि गुरुङविरुद्ध उजुरी दिएको थियो ।




















प्रतिक्रिया