Logo

प्रमुख समाचार

सशस्त्र प्रहरीमा कडाइ, स्वीकृत अनिवार्य



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ । अनिवार्य भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृति लिन भनिएको छ ।

बिहीबार (कात्तिक २०) सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरू, राजनैतिक दलहरूका नेतृत्व तथा पदाधिकारीलगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा भेटघाट गर्न कडाइ गरिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरूले कूटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ ।

जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न उच्च पदस्त व्यक्तित्वहरू, सामाजिक अभियन्ता लगायतका विभिन्न सञ्चारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकूल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनधिकृत रूपमा प्रकाशन गरेको पाइएमा कडा कारबाही गरिने भनिएको छ ।

“राज्यप्रदत्त जिम्मेवारीहरूमध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्त्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने भएको हुँदा अनधिकृत रूपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकोले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा निरुत्साहित गरी अघि बढ्ने संगठनको लक्ष्य रहेको छ,” सशस्त्रले भनेको छ ।

सांगठानिक हित र आवश्यकताको कारण सूचना आदान प्रदान गर्नुपरेमा स्थायी आदेशमा उल्लेखित अनुसूची अनुरुप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गरिएको छ । मिडियाँकर्मीसँग छलफल, भेटघाट एवं अन्य तरिकाबाट मर्यादापूर्वक सूचना प्रकाशन गर्न प्रवक्ताको कार्यालयबाट गर्न सकिने डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार २३:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।