काठमाडौँ । भर्खरै आईपीओ आएका कम्पनीहरु चलिरहेकोमा बुधबारबाट लगानीकर्ता ‘सेक्टर रोटेसन’ गरेर हाइड्रोपावर र फाइनान्स कम्पनीहरुमा सिफ्ट भएको देखिएको छ । विगत केही हप्तादेखि पछिल्लो समय सूचीकरण भएका कम्पनीहरु मात्रै बढिरहेका थिए ।
बन्दीपुर केबुलकार, श्रीनगर एग्रोटेक इन्डष्ट्रिज, एसवाई प्यानल नेपाल, विकास हाइड्रोपावर, सागर डिष्टिलरी, दरमखोला हाइड्रोपावर, बुंगल हाइड्रोजस्ता कम्पनीहरु बढिरहेका थिए ।
आईपीओ शेयरले एक चरणको उचाई छोएर आएको सप्लाई पचाएर पनि यी शेयरहरुले अर्को चरणको उचाई हासिल गरे पछि अहिले साइडवेजमा चलिरहेका छन् ।
जेनजी शेयर नाम दिएका यी शेयरहरु खासै घट्न नमाने पनि पछिल्लो समय टप गेनर, टप टर्नओभरमा भने हाइड्रोपावर र फाइनान्स कम्पनीका शेयरहरु पर्न थालेका छन् ।
बुधबारको कारोबारमा टप १० गेनर कम्पनीमध्ये ७ वटा कम्पनी हाइड्रोपावरबाटै परेका छन् । त्यसमा पनि नारायणी डेभलपमेन्ट बैंक अन्तिम समयमा मात्रै टप गेनरमा उक्लिएको हो । बाँकी २ वटा भने म्युचुअल फन्ड टप गेनरमा छन् ।
कारोबार रकम तथा टप गेनर र टप टर्नओभर हेर्दा पछिल्लो समय लगानीकर्ता विशेषगरी मूल्य नबढेका सस्ता हाइड्रोपावर कम्पनी र धेरै समय साइडवेजमा बसेको फाइनान्स र विकास बैंक समूहका कम्पनीमा सिफ्ट भएको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय कुल कारोबारमा हाइड्रोपावर समूह र फाइनान्स समूहका कम्पनीहरुको हिस्सा विस्तारै बढ्दै गएको देखिएको छ । एक हप्ता अगाडिसम्म कुल कारोबारको ४० प्रतिशतभन्दा कम हिस्साको शेयर मात्रै हाइड्रोपावर समूहका कम्पनीहरुको हुने गरेकोमा पछिल्लो समय यो हिस्सा बढदै बुधबार ४८.१४ प्रतिशत पुगेको छ भने फाइनान्स समूहका कम्पनीहरुमा पनि कारोबार रकम बढ्न थालेको छ ।
बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको हाइड्रोपावरको मात्रै कारोबार भएको छ । यो भनेको कुल कारोबार ४८.१४ प्रतिशत हो ।
बुधबार कालिका पावर ९.८४ प्रतिशतले बढेर ६ सय २६ रुपैयाँमा कारोबार भयो भने रिभर फल्स पावर ५.५० प्रतिशतले बढेर ३९८ रुपैयाँ ८० पैसामा कारोबार भयो ।
त्यस्तै विकास हाइड्रोपावर ४.९८ प्रतिशतले बढेर ५८० रुपैयाँमा कारोबार हुँदा मान्डु हाइड्रोपावर ४.५८ प्रतिशतले बढेर ८६८ रुपैयाँमा कारोबार भयो । अप्पर लोहरे खोला हाइड्रोपावर ४ प्रतिशत बढेर ४ सय ६८ रुपैयाँ तथा घलेम्दी हाइड्रोपावर ३.७० प्रतिशतले बढेर २ सय ३० रुपैयाँमा र पिपल्स पावर ३.६७ प्रतिशतले बढेर ३ सय ३९ रुपैयाँमा कारोबार भयो ।
बुधबार टप टेन गेनरमा चढेका कम्पनीहरु विगत कैयौं हप्तादेखि १ प्रतिशतभन्दा तलको रेन्जमा साइडवेज चलिरहेका कम्पनीहरु थिए ।बुधबार कारोबार रकममा पनि सबैभन्दा धेरै कारोबार आँखुखोला हाइड्रोपावरको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख रुपैयाँ, राधी विद्युत कम्पनी २८ करोड २५ लाख रुपैयाँ, बुटवल पावर कम्पनी २६ करोड ३ लाख रुपैयाँ, ङादी ग्रुप पावर १९ करोड २७ लाख रुपैयाँ र रिभर फल्सको १५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।




















प्रतिक्रिया