काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी रायमाझी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको हो।
रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) बमोजिम थुनामुक्तिको माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएका थिए। तर, जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उक्त निवेदन अस्वीकार गरेपछि उनीहरू उच्च अदालत पाटन पुगेका हुन्।
रायमाझीले पुस २५ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए भने बेचन झाले पुस ११ गते निवेदन दिएका थिए। दफा ७१ (२) मा दफा ६७ वा ६८ बमोजिम थुनामा रहेका अभियुक्त निर्दोष हुन सक्ने मनासिब आधार देखिएमा मुद्दा जुनसुकै अवस्थामा पुगेको भए पनि अदालतले सुनुवाइ गरी थुनामुक्त गर्न सक्ने व्यवस्था छ।





















प्रतिक्रिया