काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले १ करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो ।
आइतबार आयोजित एक विशेष समारोहकाबीच दुई कम्पनीबीच यससम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा माया खोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब सिटिजन्स क्यापिटलले माया खोलाको हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति लिने सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ । बोर्डबाट स्वीकृति पाएपछि सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी समेत सिटिजन्स क्यापिटलले नै सम्हाल्नेछ ।
संखुवासभा जिल्लामा अवस्थित १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरी यस कम्पनीले २०८० असारदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको छ ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री भइरहेको छ । वि.सं. २०६७ सालमा निजी कम्पनीका रूपमा स्थापना भएको यो आयोजना २०७३ सालमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो ।
कम्पनीले यसअघि २०७९ साल माघमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको थियो । अहिले दोस्रो बजारमा सूचीकृत भइसकेको यस कम्पनीले आयोजनाको वित्तीय सुदृढीकरण वा अन्य रणनीतिक योजनाका लागि थप पूँजी जुटाउन हकप्रद सेयरको बाटो रोजेको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्रै यो हकप्रद सेयर लगानीकर्ताका लागि खुला हुनेछ ।




















प्रतिक्रिया