काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।
आयोजना प्रभाविततर्फ छुट्याइएको शेयरमा भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीतर्फको शेयरमा नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
यसका साथै कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि र ६० हजार ६१३ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखेको छ। बाँकी शेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयतर्फको आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीतर्फको आवेदन छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी प्लस” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धकसँगै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंकको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।




















प्रतिक्रिया