धनगढी । कैलालीमा जारी ‘कैलाली प्राइड लिग–४’ अन्तर्गत आज सम्पन्न दोस्रो दिनका खेलहरूमा बुढीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाले जित दर्ता गरेका छन् ।
आजको पहिलो खेलमा बुढीगंगा नगरपालिकाले परशुराम नगरपालिकालाई ३७ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बुढीगंगाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनको योगफल तयार पारेको थियो।
बुढीगंगाका लागि दिनेश वडले ४३ बलमा ७ चौका र २ छक्काको मद्दतले ५४ रनको अर्धशतकीय पारी खेले। त्यस्तै सुबोध ऐरले २३ रन जोडे। बलिङतर्फ परशुरामका महेन्द्र धामीले ३ विकेट र अर्जुन बिकले २ विकेट लिए ।
१४३ रनको लक्ष्य पछ्याएको परशुराम नगरपालिका १७.५ ओभरमा १०५ रनमै समेटियो। परशुरामका लागि किरण धामीले २२ र महेन्द्र धामीले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। बुढीगंगाका सुबोध ऐरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने नागराज सिंह र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए।
दोस्रो खेलमा घोडाघोडी नगरपालिकाले भीमदत्त नगरपालिकामाथि ३ रनको अत्यन्तै रोमाञ्चक जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको घोडाघोडीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
घोडाघोडीका लागि नवयुग बस्नेतले २५ र आयुष दवारियाले १८ रनको योगदान दिए। बलिङमा भीमदत्तका लोकेन्द्र चन्दले घातक बलिङ गर्दै ३.१ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।





















प्रतिक्रिया