Logo

समाचार

देवदहमा सवारी दुर्घटना बढेपछि सडकमै पूजा



सिद्धार्थनगर। रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृतआत्माको चीर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएकाहरुको आत्मशान्तीको कामना गर्दै देवदह ९ घोडाहाका स्थानीयले सडकमा पूजा गरेका हुन् ।

स्थानीयवासीले स्वतः स्फूर्त रुपमा सहयोग संकलन गरेर मृतकहरुको आत्मशान्तीको कामना सहित स्वस्ती शान्ती, नारायणबली, लक्ष्यवर्ती प्रज्वलन तथा भागवत पूजा गरेको स्थानीय नारायण पाण्डेयले जानकारी दिनुभयो । १४ जना पण्डितहरु जुटाएर गरिएको पूजा कार्यमा देवदह–९ घोडाहामा विभिन्न समयमा दुर्घटनामा परि ज्यान गुमाएकाहरुको परिवारका सदस्य समेत सरिक भएको थिए।

सो क्षेत्रमा केहि वर्ष यता १८ जना भन्दा बढीले ज्यान गुमाएको प्रहरीको भनाइ छ । पछिल्लो ४ महिना यतामात्र देवदह–९ घोडाहा काँटाचोकमा भएको सवारी दुर्घटनामा २ जनाको घटना स्थलमै ज्यान गएको थियो ।

‘हामीले घोडाहामा विभिन्न समयमा भएका दुर्घटनामा परि मृत्युवरण गरेकाहरुको स्मृतिमा सडकमै सामुहिक पूजन कार्यक्रम गरेका हाैँ,’ पाण्डेयले भन्नुभयोे, ‘पटक–पटक दुर्घटना हुने र दुर्घटनामा ज्यान गुमाउनेहरुको नारायणवली नगरिएकै कारण थप दुर्घटना हुनेगरेको भनी पण्डित जि हरुले समेत सुझाएपछि हामीले यो कार्य गरेका हौं ।’

यसैबिच स्थानीयले सडकमा पूजा गरिरहँदा प्रहरी चौकी देवदहले त्यहाँ उपस्थित सर्वसाधारणलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरेको छ । प्रहरी सहायक निरीक्षक मिथिलेस कुमार यादवले उपस्थित सर्वसाधारणलाई ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको भन्दै ट्राफिक नियमबारे सामान्य जानकारी सबैमा हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १७:५३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।