Logo

विविध

टीकापुरमा ग्यास र पेट्रोलियमको अनुगमन



टीकापुर। टीकापुर बजारका पेट्रोल पम्प र ग्यास डिलरहरूको अनुगमन गरिएको छ । बुधबार जिल्ला अनुगमन समितिले पेट्रोलियमको अवस्था अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपाल आयल निगम लगायतका कार्यालयका प्रतिनिधिहरूले बजार अनुगमन गरेका हुन् ।

यहाँ सैपाल, मनकामना, रेडियन्ट लगायतका ग्यास कम्पनीहरूले भने आधा सिलिन्डर उपलब्ध गराउन थालेको तर भेरी ग्यासको आपूर्ति न्यून भएको पाइएको छ ।

ग्यास बिक्रेता न्यू एब्रिला ट्रेडर्सका सञ्चालक गौरीकुमार न्यौपानेले आधा मात्रै भरिएको सिलिन्डर ढुवानी गर्दा ढुवानी लागत बढेको गुनासो गर्नुभयो ।

‘पहिले दैनिक ५० देखि १०० सिलिन्डर ग्यास बिक्री हुने गरेकोमा अहिले दैनिक २३४ सिलिन्डर ग्यास ल्याउँदा पनि टिपाटीप हुने गरेको छ,’ न्यौपानेले भन्नुभयो, ‘भौतारिँदै खोज्न आउने सङ्ख्या घटेको छ, अब विस्तारै सहज होला ।’

भेरी ग्यासको बिक्रेता रोजी ट्रेड सप्लायर्सका सञ्चालक राजेन्द्र चौधरीले एक हप्तादेखि भेरी ग्यासले आपूर्ति नगरेकाले समस्यामा परेको बताउनुभयो । चौधरी भन्नुहुन्छ, ‘अब पठाउँछु भनेको छ भेरी ग्यास आएमा बजारको अभाव केही मात्रामा भएपनि कम हुने छ ।’

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले टीकापुरमा पेट्रोल र डिजेलको अभाव नरहेको तर भेरी ग्यासका उपभोक्ताले नपाएको बताउनुभयो ।

जोशीले भन्नुभयो, ‘ग्यास लगेर उपभोक्ताले घरमा थुपारेका हुन सक्छन, बिक्रेतालाई उपभोक्तालाई ग्यास दिएको बिल जारी गरी रेकर्ड राख्न निर्देशन दिइएको छ ।’ यहाँ डिजल र पेट्रोलको आपूर्ति भने भई रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १८:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।