काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सोमबारदेखि “हेर्दाहेर्दै”मा राखिएको उक्त रिटमा आज पनि बहस जारी रहेको हो । सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले प्रारम्भिक बहस गरेका थिए भने उनीहरूको बहस अझै बाँकी रहेको छ। त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीहरूले प्रतिरक्षात्मक बहस गर्नेछन्।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले मुद्दा संशोधनसँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी मुद्दासँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाएर केवल सहकारी ठगीमा मात्र मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। उक्त निर्णय पुस ३० गते सदर गरिएको सात पृष्ठ लामो टिप्पणी र आदेशमार्फत कार्यान्वयनमा ल्याउन खोजिएको थियो।
तर सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्चमा रिट दायर गरेका थिए।
निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस गरिए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले ती अदालतहरूमा सुनुवाइ अघि बढ्न सकेको छैन। यद्यपि काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयहरूले भने हालसम्म अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्।





















प्रतिक्रिया