Logo

समाचार

‘जेल ब्रेक’ अभियोग लगाउनुपर्ने व्यक्तिका मुद्दा फिर्ता लिन खोज्नु बदनीयतपूर्ण: वरिष्ठ अधिवक्ता भण्डारी



काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले ‘जेल ब्रेक’ गरेको अभियोग लगाउनुपर्ने रवि लामिछानेका अन्य मुद्दा पनि फिर्ता लिन खोज्नु बदनीयतपूर्ण भएको जिकिर गरेका छन्।

रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी छ ।

उक्त रिटमाथि बहस गर्दै रिट निवेदक समेत रहेका वरिष्ठ अधिवक्ता डा. भण्डारीले महान्यायाधिवक्ताको काम मुद्दा अभियोजन गर्ने तर फिर्ता लिने नभएको जिकिर गरे । अदालतको क्षेत्राधिकारमा प्रवेश गरिसकेको विषयमा महान्यायाधिवक्ताको कार्यालयले हस्तक्षेप गर्न नमिल्ने उनको तर्क छ ।

रिटमाथि बहस गर्दै उनले भनेका छन्, ‘एउटा महान्यायाधिवक्ताले अनुसन्धान गरेर पुरक अभियोग पनि दर्ता गरेको अवस्थामा अर्कोले त्यसलाई फिर्ता लिन सक्दैन । जेल ब्रेकको अभियोगमा मुद्दा चलाउनुपर्ने व्यक्तिका अरु मुद्दा पनि फिर्ता लिन खोज्नु बदनीयतपूर्ण देखियो श्रीमान् !’

भण्डारीले जेमा पनि राजनीतिक प्रतिशोध भन्न नमिल्ने जिकिर गर्दै उनले थपे, ‘भोलि अदालतकै आदेशमा प्रतिशोध भनिँदैन भन्ने के ग्यारेन्टी ? मुद्दा फिर्ता लिने निर्णय सदर भए अदालतको क्षेत्राधिकारमा महान्यायाधिवक्ताको हस्तक्षेप ठहर्छ ।’

 

 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १७:२६   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।