काठमाडौं । नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ ।
यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त उद्घाटन समारोहमा होण्डा मोटर कं. लि.का उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट (एसिया एण्ड ओसियाना), रिजनल अपरेसन्स् (एसोसिएटेड रिजन्स) का प्रमुख र एसियन मोटरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो । साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो ।
स्याकार ट्रेडिङ कम्पनीले होण्डाका ग्राहकहरूका लागि पहिलेकै मूल्यमा प्रिमियम सर्भिसको अवधारणा अगाडि सारेको छ। यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नेछन् । कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फर्स्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ ।
मुख्य विशेषताहरू
पहिलेकै मूल्यमा प्रिमियम सर्भिस यस पहल अन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । प्रिमियम कस्टमर एक्सपिरियन्सस् यस पहलअन्तर्गत कम्पनीले आफ्ना आदरणीय ग्राहकहरूका लागि सेवा प्रक्रियामा विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
कस्टमर फर्स्ट एप्रोचः कम्पनीले आफ्ना प्रतिनिधिहरूलाई ग्राहकको सुविधा र सन्तुष्टिलाई सदैव पहिलो प्राथमिकतामा राख़ निर्देशन तथा तालिम प्रदान गर्ने जनाएको छ ।
वर्ल्ड क्लास सर्भिस सेन्टर आफ्नो लक्ष्य प्राप्तिका लागि कम्पनीले दक्ष र प्रशिक्षित मेकानिक्सद्वारा सेवा प्रदान गर्ने तयारी गरेको छ । थ्रीएस सुविधा शोरुम, सर्भिस एण्ड जेन्युन पार्ट्स एकै छानामुनि उपलब्ध गराई उपभोक्तालाई सहजताका साथै विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स तथा कफीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ ।
थप विशेष पहलहरू
कम्पनीले सञ्चालनमा ल्याउन लागेका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीका साथै फास्ट सर्भिस बेजमार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।
त्यसैगरी, होण्डाका जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता र आरामदायी कस्टमर वेटिङ लाउन्जसहित आधुनिक सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
स्याकार ट्रेडिङ कम्पनीले यस विस्तार योजनामार्फत देशभर होण्डाका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । कम्पनीका अनुसार, आगामी दिनहरूमा थप सेवा केन्द्रहरू विस्तार गर्दै देशव्यापी पहुँच अझ सुदृढ बनाइनेछ ।




















प्रतिक्रिया