Logo

समाचार

नाट्टा अध्यक्षमा भरत जंग पाण्डेको उम्मेदवारी, समृद्ध पर्यटन र सशक्त संस्था बनाउने प्रतिबद्धता



काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २ वर्षे कार्यकालका लागि पर्यटन व्यवसायी भरत जंग पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली ट्राभल व्यवासायीहरुको छाता संस्था नाट्टालाई थप सशक्त बनाउने संकल्पसहित पाण्डेले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत रहेका पाण्डे नेपालको पर्यटन उद्योगमा दुई दशकभन्दा बढी अनुभव भएका दूरदर्शी तथा व्यावसायिक नेताका रूपमा चिनिन्छन् ।

पर्यटन व्यवसाय सञ्चालन, संस्थागत विकास र अन्तर्राष्ट्रिय साझेदारी विस्तारमा पाण्डेको योगदानले उनलाई व्यवसायीहरूबिच विश्वासिलो नेतृत्वका रूपमा स्थापित गरिसकेको छ ।

नाट्टाको २०२०-२०२२ कार्यसमितिमा सदस्यका रूपमा काम गरेका पाण्डेले संस्थाको संस्थागत सुशासन, पारदर्शिता र व्यवसायीहरूको साझा हित संरक्षणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै पाण्डेले नाट्टालाई थप सशक्त, आधुनिक र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले व्यवसायीको हकहित संरक्षण, सरकार तथा सरोकारवालासँग समन्वय, पर्यटनमा नीतिगत सुधार, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, डिजिटल रूपान्तरण, युवा उद्यमीको नेतृत्व विकास र सदस्य सेवाको गुणस्तरीय विस्तारलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

पाण्डेले उम्मेदवारी घोषणाका क्रममा भने, ‘पर्यटन केवल व्यवसाय मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो । होटेल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, यातायात, कृषि, हस्तकला, मनोरञ्जन र हजारौँ रोजगारी पर्यटनसँग प्रत्यक्ष जोडिएका छन्; पर्यटनको दिगो विकास बिना नेपालको आर्थिक समृद्धि सम्भव छैन ।’

नाट्टालाई केवल कार्यक्रम आयोजकका रूपमा नभई व्यवसायीहरूको बलियो आवाज, नीतिगत सुधारका लागि पहल गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पर्यटनको प्रतिनिधित्व गर्ने सक्षम संस्थाका रूपमा विकास गर्नुपर्ने पाण्डेले औँल्याए ।

आगामी कार्यकालमा संस्थागत सुशासन, सदस्य सेवा विस्तार, व्यावसायिक अवसर सिर्जना, अन्तर्राष्ट्रिय सहकार्य वृद्धि र उद्योगका साझा मुद्दाको समाधानलाई प्राथमिकता दिइने पाण्डेको प्रमुख विषय रहेका छन् ।

पाण्डेले नाट्टाको नेतृत्व एक व्यक्तिको मात्र नभई सम्पूर्ण सदस्यहरूको साझा नेतृत्व हुने विश्वास व्यक्त गर्दै संस्थाको कार्यदिशा निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

यसका लागि पाण्डे र उनको टिमले देशभरका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको सुझाव, सल्लाह र अनुभवलाई कार्ययोजनाको आधार बनाउने प्रतिबद्धता जनाएका छन् ।

पाण्डेले सम्पूर्ण नाट्टा सदस्यहरूलाई संस्थाको भावी दिशा, नीतिगत सुधार, सदस्य हित र पर्यटन विकाससम्बन्धी विषयमा मूल्यवान् सुझाव प्रदान गर्नसमेत अनुरोध गरेका छन् ।

पाण्डेले भने, ‘सबल र प्रभावकारी नाट्टा निर्माणका लागि सबै सदस्यको अनुभव, विचार र सहभागिता उत्तिकै महत्त्वपूर्ण छ । खुला संवाद, रचनात्मक छलफल र सहकार्यका माध्यमबाट संस्थालाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो लक्ष्य छ ।’

पर्यटन क्षेत्रको लामो अनुभव, संस्थागत समझदारी र समेटेर अघि बढ्ने नेतृत्व क्षमताका कारण पाण्डे आगामी कार्यकालका लागि नाट्टा अध्यक्षका बलियो उम्मेदवारका रूपमा हेरिएका छन् ।

उनले एकताबद्ध, व्यावसायिक, पारदर्शी र परिणाममुखी नाट्टा निर्माणमार्फत नेपाली पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोराएका छन् ।

पाण्डेले उम्मेदवारी घोषणाका क्रममा भने, ‘समृद्ध पर्यटन, सशक्त नाट्टा र व्यवसायीहरूको साझा भविष्य निर्माणका लागि एकताबद्ध प्रयास आवश्यक छ । नाट्टालाई अझ प्रभावकारी, सम्मानित र सदस्यमुखी बनाउँदै नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने हाम्रो ध्येय हो ।’

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १९:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।