Logo

अर्थ

वाणिज्य बैंकबाट १.३९ खर्ब रुपैयाँ शेयर धितो कर्जा, कुन बैंकले कति दियो? (सूचीसहित)



काठमाडौं । अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताइरहेका बेला वाणिज्य बैंकहरूले शेयर धितो कर्जामा लगानी बढाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)सम्म १९ वटा वाणिज्य बैंकले १ खर्ब ३९ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। यो हिसाबले समीक्षा अवधिमा शेयर लोन ३१.६३ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार सबैभन्दा बढी शेयर लोन नबिल बैंकले १७ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको जेठसम्मको तुलनामा १६.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जेठसम्ममा बैंकले १५ अर्ब ७ करोड ७६ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष जेठसम्म ११ अर्ब ६० करोड २७ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म २५.३१ प्रतिशतले बढाएर १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुर्याएको छ।

धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको जेठसम्म १० अर्ब ४४ करोड १२ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष जेठसम्ममा बैंकले ९ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन १०.१५ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको जेठसम्मको तुलनामा समीक्षा अवधिमा १६ वटा बैंकबाट गएको शेयर लोन बढेको छ भने ३ वटाको घटेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने नेपाल बैंकको १४.३४ प्रतिशत, सिटिजन्स बैंकको १५.१५ प्रतिशत र नेपाल एसबीआईको १४.५० प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर १५३.५६ प्रतिशतका साथ एनएमबी बैंक अगाडि रहेको छ।

प्रकाशित मिति : २८ असार २०८३, आईतवार १८:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।