काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरको पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन्। रौतहटको जिगरवा स्थायी घर भएका उनीहरू हाल गोलबजार–७ मा डेरा गरी बस्दै आएका थिए।
कवाडी सङ्कलन गरेर जीविकोपार्जन गर्ने उक्त परिवारका तीनै बालबालिका आइतबार दिउँसो खेल्न निस्किएका बेला पशुचौपायालाई पानी खुवाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेका थिए।
स्थानीयवासी र सुरक्षाकर्मीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















प्रतिक्रिया