काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ।
प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकिएको बताएका छन्।
निर्णयअनुसार अपांगता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डा. डीबी सुनार र पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईं नियुक्त भएका छन्।
त्यसैगरी, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले उपसमिति संयोजकहरूको मनोनयनसँगै प्रतिष्ठानको आगामी कार्यदिशा तथा अन्य समसामयिक विषयमा समेत आवश्यक निर्णय गरेको कांग्रेसले जनाएको छ।




















प्रतिक्रिया