सर्लाही । सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा सैलुनभित्र कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार उक्त सैलुन भारतको बिहार राज्य, सितामढी जिल्ला बाजपट्टी – १२ घर भएका ३८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएका थिए ।
घटनाको अनुसन्धानका क्रममा पेस्तोल सैलुनमा राखेको आरोपमा भारतको बिहार राज्य, सितामढी जिल्ला सोनवर्षा–१४ निवासी २३ वर्षीय डब्लु कुमारलाई पक्राउ गरिएको छ ।
यस्तै, घटनामा सहयोग गरेको आरोपमा भारतको बिहार राज्य, सितामढी जिल्ला सोनवर्षा–१ लालबनी निवासी ३६ वर्षीय महमद अबुलैसलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।




















प्रतिक्रिया