काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता नवीकरण भएको छ । नयाँ व्यवस्थाअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकले विपद्को पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्राप्त गर्नेछन् ।
नेपाल टेलिकमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट कायममुकायम महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार विभागले वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोलगायतका विपद्सम्बन्धी पूर्वसूचना सर्टकोड ११५५ प्रयोग गरी एसएमएसमार्फत पठाउनेछ । यसबाट सम्भावित जोखिम क्षेत्रमा रहेका सेवाग्राहीले समयमै सूचना प्राप्त गरी सतर्कता अपनाउन सक्ने अपेक्षा गरिएको छ ।
विज्ञप्तिअनुसार नदी तटीय क्षेत्र तथा बाढीको उच्च जोखिम भएका स्थानहरूको ‘एसएमएस पोलिगन’ र ‘फ्ल्यास फ्लड पोलिगन’ लगायत आवश्यक भौगोलिक नक्सा तथा विवरण विभागले नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। त्यसका आधारमा प्रभावित क्षेत्रमा मात्र लक्षित एसएमएस पठाइने व्यवस्था मिलाइनेछ।
नेपाल टेलिकमले यो एसएमएस सेवा विगतदेखि नै निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। विभागलाई सेन्ट्रल सर्भर सञ्चालनका लागि पहिले उपलब्ध गराइएका ७०० सिमसँगै थप ३०० सिम उपलब्ध गराएर कुल १,००० सिम निःशुल्क उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ।
नेपाल टेलिकमका अनुसार जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ सालदेखि नै मौसमजन्य विपद्का पूर्वसूचना एसएमएसमार्फत प्रवाह हुँदै आएको छ। नयाँ सम्झौताले यो सेवालाई अझ प्रभावकारी बनाउँदै विपद् जोखिम न्यूनीकरण र जनधनको क्षति कम गर्न सहयोग पुग्ने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।





















प्रतिक्रिया