काठमाडौं । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई निःशुल्क उपचार सेवा सहज, पारदर्शी र पहुँचयोग्य बनाउन ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको छ। उक्त पोर्टलमार्फत देशभरका अस्पतालमा निःशुल्क उपचारका लागि छुट्याइएका बेडको उपलब्ध अवस्था अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ।
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगरिने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ।
यस्तै, नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) ले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शैय्यामध्ये कम्तीमा १० प्रतिशत शय्या छुट्याई अनिवार्य रूपमा निःशुल्क उपचार उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।
यही कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘फ्री हेल्थ पोर्टल’ विकास गरेको जनाएको छ। पोर्टलमार्फत बिरामी तथा उनका आफन्तले कुन अस्पतालमा निःशुल्क बेड उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्नेछन्।
मन्त्रालयले थप जानकारी आवश्यक परे सम्बन्धित अस्पतालका फोकल पर्सनसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।
निःशुल्क उपचारका लागि उपलब्ध बेडको अवस्था हेर्न Free Health Portal मा गएर जानकारी लिन सकिनेछ।




















प्रतिक्रिया