Logo

प्रमुख समाचार

सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन



विराटनगर । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।

हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए । साथै जिल्ला सुरक्षा समितिको निर्णयपछि नेपाली सेनाको टोली खटिएको उनले जानकारी दिए ।

बिहानदेखि कर्फ्यू अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । दुई समुदायबीचमा आइतबार राति तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको छ, प्रहरीसहित २२ जना प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो ।

 

 

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार १३:३३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।