काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका युगपुरुष, नेपाली कांग्रेसका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशैभर विभिन्न रचनात्मक एवं स्मरणात्मक कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। यस भावपूर्ण घडीमा उनको त्याग, निष्ठा, आदर्श र दूरदर्शी विचारप्रति चौतर्फी श्रद्धासुमन अर्पण गरिएको छ।
बीपी कोइराला केवल एउटा नाम मात्र होइन, उनी नेपालको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अटुट विश्वास हुन् । आज हामीले उपभोग गरिरहेको खुला परिवेश र लोकतान्त्रिक अभ्यास बीपीलगायतका अग्रजहरूको कठोर संघर्ष, जेलनेल र पसिनाको अमूल्य प्रतिफल हो। समयको पदचापसँगै बीपीका विचारहरू पुरानो हुनुको साटो झन्-झन् सान्दर्भिक र जीवन्त बन्दै गइरहेका छन्। देशको वर्तमान राजनीतिक परिस्थिति, अन्योल र आम नागरिकमा देखिएको निराशालाई चिर्न आज पनि बीपीले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलापको नीति’ र ‘समावेशी समाजवाद’ नै एकमात्र निर्विकल्प बाटो रहेको विश्लेषण गरिएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले बीपी स्मृति दिवसका अवसरमा जारी गरेको विशेष वक्तव्यमा युवा पुस्तालाई बीपीका विचारसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
उनले भने- “बीपीले सधैँ भन्नुहुन्थ्यो— ‘देश भनेको माटो होइन, जनता हो।’ आजका युवाहरूमा जुन राजनीतिक वितृष्णा र देश छाड्ने हुटहुटी छ, त्यसलाई रोक्न हामीले बीपीले कल्पना गरेको ‘हरेक नेपालीको अनुहार उज्यालो हुने’ समृद्धिको सपनालाई व्यवहारमा उतार्नैपर्छ। पद, सत्ता र क्षणिक स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताका लागि इमानदार राजनीति गर्नुपर्छ भन्ने बीपीको सादगी जीवन हाम्रो पुस्ताले सिक्नैपर्ने सबैभन्दा ठूलो पाठ हो।”
पार्टीभित्र र बाहिर देखिएका अनेकौँ चुनौतीहरूको सामना गर्न आज बीपीको जस्तै फराकिलो सोच र दृढ इच्छाशक्तिको खाँचो रहेको औँल्याउँदै नेता गुरुङले बीपीका विचारलाई केवल भाषण र तस्बिरमा मात्र सीमित नराखी आफ्नै आचरण र व्यवहारमा लागू गर्न आह्वान गरेका छन् ।
लोकतन्त्रको रक्षा, सुशासन र समृद्ध नेपाल निर्माणको महाअभियानमा बीपीको सिद्धान्तलाई मार्गदर्शक मानेर एकजुट भई अघि बढ्न सके मात्र त्यो जननायक बीपी कोइरालाप्रतिको साँचो र अर्थपूर्ण श्रद्धाञ्जली हुनेछ।




















प्रतिक्रिया