काठमाडौं । सरकार र प्रा. डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा, स्वास्थ्य सेवा विस्तार र गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनलगायत विषयमा ७ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि जारी सत्याग्रह अन्त्य गरेका छन्।
सहमतिअनुसार सरकारले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० शय्याको शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने भएको छ।
साथै विश्वविद्यालयबाट चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी भर्ना र पठनपाठनका बाँकी प्रक्रिया यथाशीघ्र पूरा गरिने उल्लेख छ।
सहमतिमा विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था संशोधन गरी पदाधिकारीको योग्यता, नियुक्तिलगायतका विषय आवश्यकताअनुसार परिमार्जन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार विद्यार्थी सिट निर्धारण गर्ने, निजी मेडिकल कलेजहरूको सिट संख्या नबढाउने तथा आवश्यक परे सरकारी संस्थाको सिट संख्या बढाउने सहमति भएको छ।
सरकारी मेडिकल कलेजहरूलाई गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने विषयमा अध्ययन गरी तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने व्यवस्था पनि सहमतिमा समेटिएको छ।
सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा सहज पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार तथा सेवा विस्तारका लागि संघ र प्रदेश सरकारबीच समन्वय गर्ने सहमति भएको छ।
यसैगरी, २०८२ भदौ २३ देखि २५ गतेसम्म भएका हत्या, आगजनी, लुटपाट र भौतिक विनाशका घटनामा संलग्नमाथि कानुनबमोजिम निष्पक्ष अनुसन्धान र कारबाही अघि बढाइने उल्लेख गरिएको छ।
सहमतिको कार्यान्वयनको अनुगमन गर्न शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिनेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अनुगमन समिति रहने पनि सहमतिमा उल्लेख छ।
यी सहमतिपछि डा. केसीले साउन ११ गतेदेखि आफ्नो सत्याग्रह अन्त्य गरेका छन्।




















प्रतिक्रिया